काठमाडौँ, १२ चैत । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई दूधको भुक्तानी नदिएको करीब २ महिना पुग्न लागेको छ । संस्थानले किसानलाई उक्त अवधिको ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको हो ।
जसले गर्दा लामो समय बितिसक्दा पनि किसानले दूध बेचेको पैसा नपाएका हुन् । हरेक १५ दिनमा भुक्तानी दिनुपर्ने सम्झौता छ । तर संस्थानले माघदेखि हालसम्मको दूधको मूल्य भुक्तानी गर्न बाँकी रहेको संस्थानका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी पनि स्वीकार गर्छन् ।
राम्रै सार्वजनिक छवि भएको सरकारी संस्थानले किसानको माघदेखिको रकम भुक्तानी गरेको छैन । संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार अहिले संस्थानले माघ १ देखि १५ गतेसम्मको भुक्तानी गरिरहेको छ । बाँकी रकम भुक्तानी गर्न आउट सोर्सिङकाे व्यवस्थाका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल भइरहेको अधिकारी बताउँछन् । किसानको बाँकी भुक्तानी शीघ्र गरिने उनले बताएका छन् ।
आफू नगदमा बेच्दै, किसानसँग उधारोमा किन्दै
डीडीसीलाई देशभरका करिब २ लाख किसान परिवारले दूध बेच्छन् । उसले देशभर ४५ जिल्लाबाट गाई भैँसी र चौरीको दूध सङ्कलन गर्छ । जुन १ हजार २ सय दुग्ध उत्पादक सहकारीमार्फत खरीद गरिन्छ । जसलाई संस्थानले मासिक २० करोडबढी रुपैयाँ भुक्तानी गर्नुपर्छ । संस्थानले महिनाको १ र १५ गते रकम वितरण गर्नुपर्छ । तर अहिले भने माघदेखिको भुक्तानी हुन सकेको छैन । जबकि संस्थान आफूले नगदमा दूध बेचिरहेको छ । तर किसानसँग भने उधारोमा खरीद गरिरहेको हो ।
यसअघि २०७७ फागुनदेखि करिब ३ महिना र २०७८ कार्तिकपछि पुनः साढे २ महिना भुक्तानी रोकिएको थियो । त्यसवेला संस्थानले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग २० करोड ऋण लिएको थियो ।
कर्मचारीलाई बाँडिन्छ २ करोड रुपैयाँको दूध
संस्थानमा करीब १ हजार २ सय कर्मचारी छन् । हरेकलाई दिनमा १ लिटर दूध दिइन्छ, त्यसमा मात्र वार्षिक २ करोड रुपैयाँ खर्च हुन्छ । संस्थानमा मूल्य अभिवृद्धि कर र बिक्री-वितरणबीच ५९ करोड ५४ लाखको हिसाब फरक रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । वार्षिक २ अर्बको भुक्तानी गरिरहेको संस्थानको नोक्सान ८७ करोड पुगेको छ ।
आफ्नै उत्पादन बेच्दै संस्थान
संस्थानले विभिन्न दुग्धजन्य उत्पादन गरेर आफैँले बेचिरहेको पनि छ । जुन उत्पादनको संस्थानको बेवसाइटमा मूल्यसहित राखिएको छ । डीडीसी आइसक्रिम, डीडीसी लालमोहन, रसबरी, डेरी ह्वाइटनर, मही, स्ट्रबेरी जुस, स्ट्यान्डर्ड मिल्क, सुगरफ्री दही र आधार लिटरको घी पोली प्याकलगायतका उत्पादनहरू बेवसाइटमा छन् ।
बजारमा बढ्यो दूधको मूल्य
डीडीसीले हालै दूधको मूल्यमा प्रतिलिटर न्यूनतम् १० रुपैयाँदेखि अधिकतम् १६ रुपैयाँसम्म बढाएको छ ।
नयाँ मूल्यअनुसार निलो प्याकेटको दूध प्रतिलिटर ११ रुपैयाँले बढेर ९७ रुपैयाँ कायम भएको छ । काठमाडौँ, विराटनगर, जनकपुर, हेटौंडा र वीरगञ्ज क्षेत्रमा आधा लिटरको एक पोका दूधको मूल्य ४३ रुपैयाँबाट बढेर ४८ रुपैयाँ ५० पैसा कायम भएको छ । नेपालगञ्ज र धनगढीमा स्ट्याण्डर्ड दूधको मूल्य प्रतिलिटर ९२ रुपैयाँ तोकिएको छ भने लुम्बिनी प्रदेशमा प्रतिलिटर ९४ रुपैयाँ कायम भएको छ ।
फुल क्रिम दूधमा संस्थानले प्रतिलिटर १६ रुपैयाँले वृद्धि गरेसँगै प्रतिलिटर १ सय ३० रुपैयाँ पुगेको छ । तर विराटनगर भने १ सय २० रुपैयाँ पुर्याइएको छ ।
गाईको दूधको मूल्य प्रतिलिटरमा १ सय १६ रुपैयाँ पुगेको छ । लो–फ्याट दूधको मूल्य भने लिटरमा १० रुपैयाँले बढेर बाट ९० पुगेको छ । ४० रुपैयाँमा पाइने आधा प्याकेट लो–फ्याट दूधको मूल्य ४५ रुपैयाँ पुर्याइएको छ ।