आइतबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले माफी मागेका छन् । खड्का सभामुखको आसन बीचमा हिँडेपछि नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा नियमापत्ति जनाएका थिए ।
प्रतिनिधिसभा नियमावलीअनुसार सभामुखको आसन र बोलिरहेको सांसदको बीचमा हिँड्न पाइँदैन । कांग्रेस सांसद खड्काले यो नियामावलीको व्यवस्था उल्लंघन गरेको भन्दै एमाले सचेतक बर्तौलाले नियमापत्ति जनाएका थिए । उनले भने, ‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन । सदनको गरिमालाई धज्जी उडाउँदै माननीय सदस्यबाट यस प्रकारको काम भइरहको छ ।’
बर्तौलाको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले संसदको मर्यादा कायम राख्न निर्देशन दिएका थिए । त्यसपछि कांग्रेस सांसद उठेर अनदेखा कारणले नियमावलीको त्यो दफालाई उल्लंघन गरेको स्वीकार गर्दै त्यसका लागि म क्षमा चाहन्छु भनेका थिए ।