बारा । बाराको श्रीपुरस्थित रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रा.लिले उखु किसानहरूलाई भुक्तानी दिन सुरु गरेको छ । पुसको ११ गतेदेखि उखुको क्रसिङ सुरु गरेको उद्योगले हालसम्म ५ लाख ५० हजार क्विन्टल उखुको भुक्तानी दिइसकेको उद्योग प्रशासनले जनाएको छ ।
उद्योगले उखुको क्रसिङ गरेपछि मात्रै किसानहरूले भुक्तानी पाउने व्यवस्था छ । गत वर्ष प्रति क्विन्टल उखुको ५२० रुपैयाँ पाएका किसानहरूले यस वर्ष सरकारले २० रुपैयाँ बढाएर प्रति क्विन्टलमा ७० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । सरकारले बढाएको मूल्यमा उखु किसान र चिनी उत्पादक संघले समेत समर्थन जनाएको उद्योगले जनाएको छ ।
बारा र पर्सा १० हजार किसानले उखु क्रसिङका लागि रिलायन्स चिनी मिलमा ल्याउने गर्दछन् । ‘हामीले क्रसिङ भएको उखुको प्रति क्विन्टल ५२० रुपयाँको दरले भुक्तानी दिन सुरु गरिसकेका छौँ, सरकारले अनुदान स्वरूप प्रति क्विन्टलमा दिने ७० रुपैयाँ हामीले अन्तिममा सबैको विवरण कोलेनिका पठाउँछौ र त्यसैको आधारमा कोलेनिकाले कसको कति हो हिसाब गरेर खातामा पठाउँछ,’ रिलायन्स उद्योगका प्रशासन प्रमुख मनोहर झाले भने ।
दैनिक ३५ हजार क्विन्टल उखु क्रसिङ गर्न सक्ने क्षमता रहेको उद्योगले यस वर्ष उखु खेतमै सक्ने र रोगका कारण उत्पादन घटेपछि अहिले दैनिक २२ देखि २४ हजार क्विन्टल उखु क्रसिङ गरिरहेको छ ।
‘छिटो छिटो उखु क्रसिङ गर्दा सबै किसानहरूको खेत खाली हुन सक्छ, रोप्ने समय आउन अझ बाँकी छ त्यसका लागि बिउ पाइँदैन खेतमा उखु बसिरह्यो भने बिउको लागि समस्या हुँदैन,’ झाले भने ‘हामीले सुरुमा खुटीको उखु (१ वर्ष अघिको बिउ) को चलानी दिन्छौ पछि मुर्गान् (यही वर्ष लगाएको नयाँ) उखुको चलान दिन्छौ, नयाँ बिउको उखु अझै मिलमा आएको छैन’ । मिलले हालसम्म १ लाख ५० हजार बोरो चिनी भण्डारण गरिसकेको छ ।