लोकगायक पशुपति शर्माको नयाँ गीत ‘आफ्नो आफ्नो दुःख’ यतिबेला चर्चित भइरहेको छ ।
गीत टिकटकमा निकै छाइरहेको छ भने युट्युबमा राम्रो भ्युज पाइरहेको छ ।
शनिवार सार्वजनिक गीतले सोमवार बिहानसम्म युट्युबमा ५ लाख ५० हजार भ्युज पार गरिसकेको छ ।
युट्युबको नेपाल ट्रेन्डिङमा म्युजिकतर्फ दोस्रो नम्बरमा छ अहिले यो गीत ।
समाजको नजिक रहेर यथार्थपरक, सन्देशमूलक गीत ल्याउँदै आएका र त्यसमा पनि हाँस्य–ब्यङग्य शैलीका गीतहरू बढी ल्याइरहेका पशुपतिको ‘आफ्नो आफ्नो दुःख’ भने मार्मिक छ ।
यस गीतमा आफैले कोरेका शब्दमा आफै संगीत भरेर एकल स्वर दिएका हुन् पशुपतिले ।
दुःखको गीत भएपनि शब्दसँगै संगीत मिठो भएकाले श्रोता दर्शकले निकै रुचाएका छन् । गीतको शब्दले छोएको श्रोता दर्शकको प्रतिक्रिया छ ।
‘मलाई पनि छ, उनलाई पनि छ
आफ्नो आफ्नो दुःख त जूनलाई पनि छ’
योसँगै गीतका अन्य हरेक टुक्का पनि रुचाइएका छन् । हरेक टुक्कामा थुप्रै श्रोता/दर्शकले टिकटक बनाएका छन् ।
गीतको भिडियो भने कुनै तामझामबीना सामान्य बनाइएको छ । यसले के पनि सन्देश प्रवाह गरेको छ भने गीत राम्रो भए सामान्य भिडियोमा पनि चल्छ । भिडियोमा पशुपति स्वयं प्रस्तुत छन् ।
दुर्गा पौडेलले छायाँकन एवं निर्देशनको कार्यभार सम्हालेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।
पशुपतिले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ८ मिनेटको उक्त गीत सार्वजनिक गरेका हुन् ।
नयाँ गीतले सफलता पाइरहँदा पशुपतिको आज जन्मदिन परेको छ ।
शुभचिन्तक एवं लोक संगीत प्रेमीले पशुपतिलाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् ।
भिडियो