चितवन |
लकडाउनको मौका छोपी कालोबजारी गरेको अभियोगमा यहाँको भाटभटेनी सुपर
मार्केटलाई स्थानीय प्रशासनले रु एक हजार जरिवाना र एक महिना कैदको सजाय
सुनाएको छ । उपभोक्ताको गुनासोपछि प्रशासनले गरेको अनुगमनका क्रममा
भाटभटेनीले प्रचलित मूल्यभन्दा बढीमा सामग्री बेचेको भेटिएको थियो ।
जिल्ला
प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार तरकारीमा
बजारको प्रचलित मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि भाटभटेनीलाई
कारवाही गरिएको हो । भाटभटेनीका तर्फबाट भरतपुरका व्यवस्थापक जमुना
गुरुङलाई सो सजाय सुनाइएको थियो । निज गुरुङले कैद बराबरको जरिवाना रकम
तिरेर छुटेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी रत्ननगरमा रहेको
पौडेल पुस्तक महलका सञ्चालक हरिनारायण उपाध्यायलाई बढी मूल्यामा पुस्तक
बेचेपछि एक महिना कैद र रु एक हजार जरिवाना गरिएको छ । निजले पनि कैदवापतको
जरिवाना तिरी रिहा भएको प्रशासनले जनाएको छ ।
यस्तै महङ्गो मूल्यमा
फलफूल बिक्री गर्ने चार व्यवसायीलाई कारवाही गरिएको छ । कारवाहीमा
पर्नेमा काठमाडौँ फ्रुड्स र आचार्य फ्रुड्स नारायणगढलाई रु २५/२५ हजार र
हिमालय फ्रुड्स तथा सुभम फ्रुड्सलाई रु १०/१० हजार धरौटी तोकिएको उहाँले
जानकारी दिनुभयो । बजार अनुगमनका क्रममा उनीहरुले उपभोक्तालाई बजार
मूल्यभन्दा महङ्गो मूल्यमा बिक्री गरेको पाइएपछि धरौटी तोकी तारेखमा
छाडिएको सिम्खडाले बताउनुभयो । उनीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा
९(५) बमोजिम कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । लकडाउनको मौका छोपी
महङ्गोमा सामान बिक्री गर्नेलाई स्थानीय प्रशासनले कडाइका साथ अनुगमन गर्ने
काम गरिरहेको छ । रासस