भोलीबाट मौसममा सुधार , दशैंभरी आकाश खुल्ला रहने

काठमाडौं, १२ असोज / एकसातादेखि लागातार परिरहेको बर्षा सोमबारदेखि रोकिने भएको छ । सोमबारबाट मौसममा क्रमिक रुपमा सुधार आउने भएकोले दशैंमा ठूलो पानी पर्छ कि भनेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको मौसमविदको भनाइ छ ।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार अहिले जुन सिस्टमले पानी पारिरहेको छ, यो सिस्टम भोलि (सोमबार)बाट क्रमिक रुपमा सुधार हुँदै जानेछ ।

मौसम पूर्वानुमान महाशाखाले सामान्यता तीन दिनको मात्र पूर्वानुमान गर्दछ । त्यसैले खासगरी फूलपातीदेखि दशैंको टीकासम्मको अवधिमा मौसमको अवस्था के हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न कठिन हुने मौसमविद बताउँछन् । यद्यपि अर्को सिस्टम तत्काल विकास हुने सम्भावना नदेखिएको मौसमविद बासीले बताइन् ।

यद्यपी नेपालबाट मनसुन बाहिरीनसकेकाले वर्षाको सम्भावना भने कायमै रहने मौसमविद बताउँछन् । तर, अहिले भइरहेको जस्तो ठूलो वर्षा वा पूर्ण बदलीको अवस्था भने नहुने अनुमान गरिएको छ ।आइतबार काठमाडौं उपत्यकासहित देशभर बदली भई हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु