बारा :
एक स्वास्थ्यकर्मीसहित बारामा बुधबार आठ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पचरौता नगरपालिकाको क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मीसहित आठ जनामा
कोरोना पुष्टि भएको हो ।
उनीहरुको स्वाब परीक्षण राष्ट्रिय
जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । संक्रमितमध्ये अहेब पदका
स्वास्थ्यकर्मी रौतहटका हुन भने अन्य सात पचरौता नगरपालिका वडा नम्बर १,२,५
र ७ का हुन् । संक्रमित हुनेमा एक महिलासमेत रहेकी छन् ।
भारतको विभिन्न शहरबाट नेपाल आएका
उनीहरुलाई बैशाख ३१ गते सुरक्षाकर्मीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा
राखेको थियो । सोही क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका दुई
जवानसहित पाँच जनामा मंगलबार कोरोना पुष्टि भएको थियो ।
क्वारेन्टाइनमा रहेका नागरिक,
स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरी ५८ जनाको स्बाव जेठ ७ गते परीक्षणका
लागि पठाइएको थियो । परीक्षण गरिएका ५७ जनामध्ये हालसम्म १३ संक्रमित
भेटिएका छन् । एक जनाको रिपोर्ट भने आउन बाँकी छ ।
संक्रमित आठ जनालाई कलैया अस्पताल ल्याउने
तयारी भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।
योसँगै बारामा संक्रमित हुनेको संख्या ५५ पुगेको छ । यसअघि बारामा सात
प्रहरी, दुई सेना, महागढीमाई नगरपालिकामा २१, सिम्रौनगढ नगरपालिकामा ७,
करैयामाई गाउपालिकामा तीन, पचरौता गाउपालिकामा तीन, आदर्श कोतवाल
गाउँपालिकामा दुई, जीतपुरसिमरा उपमहानगरपालिकामा एक र बिश्रामपुर
गाउँपालिकामा एक जना संक्रमित भेटिएका छन् ।
संक्रमितमध्ये करैयामाई गाउपालिकाका ७०
वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो ।
अन्य संक्रमितमध्ये जीतपुरसिमरा उपमहानगरपालिका एक र स्रिमौनगढ नगरपालिकाका
एक गरि दुई जना उपचारपछि घर फर्किएका छन् । बिश्रामपुर गाउपालिकाका एक
पुरुषलाई वीरगन्जस्थित सिद्धार्थ क्वारेन्टाइन राखिएको छ भने अन्य कलैया
अस्पतालको आइशोलेसनमा छन् ।