दुई नगरमा एकै कार्यकारी

रौतहट

— प्रत्येक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सातौं तहका उपसचिव खटिने व्यवस्था छ । तर, रौतहटका दुई नगरपालिकाको जिम्मेवारी एउटैले उठाउँदै आएका छन् ।

त्यो पनि छैटौं तहका अधिकृतले । देबाही र मौलापुर नगरपालिकामा प्रमोद साह एक्लैले प्रमुख प्रशासकीय अधिकृतको काम गर्छन् ।

आर्थिक वर्ष सकिने समय नजिकिँदै गर्दा नगरपालिकाभित्र विकास निर्माण, योजना सम्झौता, रकम भुक्तानी लगायतका काम भ्याइनभ्याइ भएको छ ।

देबाही नगरपालिकाभित्र भइरहेको विकास योजनाको काम, हुन लागेको कामको कार्यादेश, योजना सम्झौता, सम्पन्न कामको बिलको प्रमाणीकरण र भुक्तानीलगायत काम प्रभावित भएको नगर प्रमुख धर्मेन्द्र पटेलले बताए । ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा निकै कठिन हँुदै आएको छ,’ उनले भने, ‘काम गर्ने समयमा मुख्य मान्छे नै छैन । एउटै अधिकृत यताउता गरेर कसरी काम हुन्छ ?’

देवाहीका तत्कालीन प्रशासकीय प्रमुख सुमन कार्की गौर नगरपालिकामा सरुवा भएपछि यहाँ खाली भएको हो । त्यसपछि अधिकृत साहलाई दुईवटा नगरपालिकाको जिम्मेवारी दिइएको छ ।

नगरपरिषद्का बेला देवाही नगरपालिकामा केही समय खटे पनि पछिल्लो समय साहले मौलापुर नगरपालिकामै बिताउने गरेको प्रमुख पटेलको गुनासो छ । ‘बढी समय मौलापुरतिरै बस्नुहुन्छ’ उनले भने । उपसचिव दरबन्दी भएको नगरपालिकामा अधिकृतलाई जिम्मेवारी तोकियो ।

मौलापुर नगरपालिकालाई पनि यस्तै समस्या परेको छ । त्यहाँ पनि प्रशासनिक काममा बाधा पुगेको नगरपालिकाले जनायो ।

अधिकृत साहले दिनरात खटेर भए पनि दुवै नगरपालिकाको काम गरिरहेको बताए । ‘जिम्मेवारी दिइएपछि काम गर्नै पर्‍यो,’ उनले भने, ‘अहिले २४ सै घण्टा सेवाग्राहीको काममा लागेको छु । सकीनसकी दुवै नगरपालिकामा भ्याएको छु ।’ यहाँको वृन्दावन, यमुनामाई र गरुडा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिव स्तरको दरबन्दी भए पनि अधिकृतले चलाउँदै आएका थिए ।

सरकारले दुई दिनअघि यी नगरपालिकामा उपसचिव स्तरका प्रमुख अधिकृतलाई सरुवा गरेको छ । मौलापुर र देवाहीमा भने पठाइएको छैन । जिल्ला समन्वय समितिका अधिकृत कृति सुवेदीले उपसचिवको दरबन्दी भए पनि माथिबाट सरुवा गरी नपठाएकाले अधिकृतले चलाउँदै आएको बताए । ‘हुँदै नभएपछि के गर्ने?’ उनले भने, ‘उपसचिवको दरबन्दी भए पनि अधिकृतले दुई/दुई वटा नगरपालिका हेर्नुपरेको छ ।’

विवाद बढ्यो
पछिल्लो केही महिनायता जिल्लाका अधिकांश नगरपालिकामा विकास निर्माणको काम गराउन उपभोक्ता समिति गठनमा विवाद भएको छ । गुजरा, ईशनाथ, राजदेवी, राजपुर फरदहवा, वृन्दावन, यमुनामाई लगायतका नगरपालिकामा उपभोक्ता समिति गठन गर्दा आफ्ना मानिस राखेको भन्दै विवाद हुने गरेको हो । विवाद बढेपछि स्थानीयले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई मौखिक जानकारी गराएका छन् । गुजरामा समिति गठनको विषयलाई लिएर पटकपटक झडप हुँदै आएको छ ।

केही स्थानीयसमेत घाइते भएका थिए । प्रजिअ रिजालले मौखिक वा लिखित उजुरी परेको नगरपालिकाको हकमा छानबिन हुने बताए । ‘विकासको काममा यो र त्यो नभनी सबै मिलेर गर्नुपर्छ भनेको छु,’ उनले भने, ‘नियम कानुन मिचेर काम गर्न खोजे कारबाही हुन्छ ।’


 

 

सम्बन्धित शीर्षकहरु