करोडौंका सवारी कवाडी बन्दै

चन्द्रपुर (रौतहट)

— २०६६ असार १८ गते तत्कालीन पौराई गाविस ६ का लालबहादुर जिम्मा समेतले अवैध काठ तस्करी गर्न लाग्दा वनले बरामद गरेको ना२ख ३४६६ नम्बरको ट्रक सड्दै गएको छ ।

उक्त मुद्दाको फैसला भयो भएन भन्ने वन कार्यालय बेखबर छ । बरामद सवारी समयमा लिलाम बिक्री गरेको भए करोडाैंको राजस्व आउने वनकै कर्मचारी बताउँछन् । २०६४ सालमा बरामद भएको ट्रक कुहिएर कामै नलाग्ने भएको छ । त्यस्तै ट्रयाक्टर लगायतका साधन बरामद भएको १० वर्षभन्दा बढी भइसकेको छ ।

जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरअन्तर्गतको सशस्त्र वन रक्षक सुरक्षा शाखा परिसरका अवैध काठ ओसारपसार गर्दा प्रयोग भएका ट्रक, ट्रयाक्टर, मोटरसाइकल, जिप, टायर गाडा र साइकल गरी झन्डै २ सयभन्दा बढी सवारी कवाडीमा परिणत भएका छन् ।

घाम, पानीले अधिकांश सवारी कुहिँदै गएका हुन् । बरामद भएका ट्रकमध्ये ४ वटा बेवारिसे अवस्थामा फेला परेका थिए । वन कार्यालयका अनुसार विभिन्न स्थानबाट अवैध काठसहित ६ वटा ट्रक बरामद भएका थिए ।

त्यस्तै ५ वटा ट्रयाक्टर, एउटा जिप, ३ वटा मोटरसाइकल बरामद भएका थिए । साइकल १ सय र टायर गाडा १ सय बरामद गरिएको थियो । मुद्दा छिनोफानो नभएकैले गाडी थन्किएको जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले बताए । ‘केही बेवारिसे गाडीहरू पनि छन् । बेवारिसेको हकमा कोही पनि दाबी गर्न नआएकाले मुद्दा फैसलामा ढिलाइ भएको हुन सक्छ,’ उनले भने, ‘कतिपय मुद्दा फैसला भएर पनि प्रतिलिपि नआएको होला । अब कर्मचारी खटाएर भने पनि मुद्दाको अवस्थाबारे बुझ्छांै ।’

जिल्ला अदालत गौरका स्रेस्तेदार उपसचिव चिन्तामणि शर्माले वन कार्यालयको २ वर्षभन्दा बढीका कुनै पनि मुद्दा फैसला हुन बाँकी नरहेको बताए । ‘जिल्लाबाट पुनरावेदन हँुदै सर्वोच्चसम्म मुद्दा पुगेको हुन सक्छ,’ उनले भने, ‘कतिपय वन मुद्दाको चित्त नबुझेर सर्वोच्चसम्म पुग्दा फैसलामा ढिला भएको हुन सक्छ । अदालतकै कारणले कुहिन लागेको भन्न मिल्दैन ।’ काठसहित पक्राउ परेका केही धरौटीमा रिहा भएका छन् ।

वनले सवारी बरामद भएपछि धनी पत्ता लगाउन यातायात कार्यालय वीरगन्जमा पत्राचार गरेको थियो । तस्करले ३ वटासम्म नम्बर प्लेट राखेर सवारी प्रयोग गरेकाले धनी पत्ता लगाउन कठिन परेको थियो । वनले पठाएको इन्जिन, चेसिस नम्बर र यातायातको अभिलेखमा भएको नम्बर फरक परेपछि समस्या भएको हो । केही गाडीको विवरण माग गर्दा यातायातले जवाफ नै नपठाएको वनले जनायो । अधिकांशको महत्त्वपूर्ण पार्टपुर्जाहरू हराइसकेका छन् । गाडीका ब्याट्री भने बत्ती बाल्न वन कार्यालयले प्रयोग गरेको थियो ।

चोचा र चेतनगर सेक्टर वनअन्तर्गतको जंगलबाट सालको गोलिया तस्कर गर्न लाग्दा वनले बरामद गरेको झन्डै १ सय वटा टायर गाडा कामै नलाग्ने भएका छन् । वन रक्षकको शाखा परिसरमा त्यत्तिकै फालिएको अवस्थामा काठे गाडाहरू छन् । वनमा सबैभन्दा धेरै साइकलहरू छन् । तस्करले काठ ओसारपसारकै लागि भनेर साइकल बनाएका थिए । बरामद गरेको साइकल कवाडीमा परिणत भएका छन् । अहिले वन अधिकृतको निवासबाहिर साइकल थुपारेर राखिएको छ ।

काठ पनि कुहियो
वनले विभिन्न स्थानमा गाडीसहित बरामद गरेको साल र अन्य काठ लिलाम बिक्री गर्न नसक्दा कुहिँदै गएको छ । करोडांैको मूल्य पर्ने सालको गोलिया र चिरान काठ कुहिन लागेको वनले जनायो । वन अधिकृत कोइरालाले मुद्दा चल्दै गरेको काठ लिलाम बिक्री गर्न नमिल्ने बताए । बाहिर खुलामा राखिएको काठ घाम, पानीले सड्न लागेको वनले जनायो ।

झन्डै ११ वर्षभन्दा बढी समयदेखि काठ त्यत्तिकै अलपत्र राखिएको छ । वनले मुद्दा परेको काठको फैसला भयो/भएन भन्ने जिल्ला अदालतबाट प्रतिलिपि उतार गर्न कर्मचारी खटाउन लागेको जनायो ।

 

 

सम्बन्धित शीर्षकहरु