चिनी आयात घट्यो

पर्सा — सरकारले चिनी आयातमा भन्सार शुल्क बढाएपछि सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट यसको आयात घटेको छ ।

पछिल्लो ३/४ महिनायता पाकिस्तानको चिनीको आयात बढेपछि स्वदेशी उद्योगको दबाबमा सरकारले वैशाख ४ देखि १५ प्रतिशतबाट बढाएर भन्सार शुल्क ३० प्रतिशत पुर्‍याएको थियो ।


बन्दरगाहस्थित भन्सार कार्यालयको तथ्यांकअनुसार वैशाख महिनासम्म पनि अत्यधिक चिनी आयात भएकोमा जेठ लागेपछि यसको आयात क्रमश: ओरालो लागेको छ । वैशाखमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको ३५ हजार ६ सय ९७ मेट्रिक टन चिनी आयात भएको थियो । जेठ लागेपछि सोमबारसम्म ४१ करोड रुपैयाँ बराबरको १० हजार ४ सय ४९ मेट्रिक टन चिनी भित्रिएको छ । हाल आयात भइरहेको चिनी भन्सार शुल्क वृद्धि हुनुअघि नै आयातकर्ताले खरिद गरिसकेको अनुमान गरिएको छ ।


चैतमा १ अर्ब १८ करोड रुपैयाँ बराबरको ३२ हजार ५३ मेट्रिक टन चिनी आयात भएको थियो । फागुनमा ८७ करोड रुपैयाँ बराबरको १८ हजार २ सय ५२ मेट्रिक टन चिनी आयात भएको थियो । यो नाकाबाट दक्षिण एसियाली छिमेकी मुलुक पाकिस्तानबाट यस वर्ष सर्वाधिक चिनी आयात भएको छ । केही चिनी बंगलादेश र क्यानाडाबाट पनि आयात भएको छ ।यस वर्ष पाकिस्तानका साथै बंगलदेशमा पनि बढी चिनी उत्पादन भएको र दुवै मुलुकको अमेरिकी डलर सञ्चिती कम भएकाले उत्पादन लागत मूल्यमै अधिकतम चिनी बिक्री गरेर यी मुलुकले बढीभन्दा बढी डलर भित्र्याउने प्रयास गरेको अनुमान गरिएको छ । जसले गर्दा अन्य मुलुकको चिनीलाई कडा प्रतिस्पर्धा हुन गयो ।


सुक्खा बन्दरगाह नाकाबाट चिनी ल्याएका आयातकर्ताले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घटेकाले चिनीको भन्सार शुल्क पनि घटनुपर्ने माग गरेका थिए । उनीहरूले नेपाल सरकारले निर्धारण गरेको चिनी आयात गर्दाको १५ प्रतिशत भन्सार शुल्क समेत घटाउनुपर्ने माग गरेका थिए । जसले गर्दा धेरै आयातकर्ताले धरौटीमा चिनी छुटाएर भन्सारबाट लगेका थिए । भन्सार विभागले प्रतिमेट्रिक टन ४ सय ६० डलर चिनीको अन्तर्राष्ट्रिय मूल्य मानेर १५ प्रतिशत भन्सार शुल्क र त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर निर्धारण गरेको थियो । यसभन्दा कम मूल्य दाबी गरेर जाँचपास गराउन खोज्ने आयातकर्ताले तत्कालका लागि राजस्व धरौटी राखेर चिनी जाँचपास गराएर लगेका थिए । पछि भन्सार शुल्क नै बढेपछि यो विवाद मत्थर भएको छ । भन्सार कार्यालय प्रमुख सूर्य सेढाई भन्सार शुल्क बढेपछि चिनीको आयात क्रमश: घटेको बताउँछन् । आयातकर्ताले चिनी ल्याए भन्सारले त्यसमा सहजीकरण गर्ने उनले बताए ।


भन्सार शुल्क वृद्धिपछि पूर्वी नाका विराटनगरबाट चिनी आयात गर्दै आएका आयातकर्ताले भन्सार विभागविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । कतिपय आयातकर्ताले उक्त मुद्दाको फैसला हुन्जेलसम्म चिनी जाँचपास नगराई सुक्खा बन्दरगाहको गोदाममै राखेको अनुमान पनि गरिएको छ ।


हाल बन्दरगाहस्थित गोदाममा १ सय ६० कन्टेनर चिनी आयातकर्ताले राखेको बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सका सीईओ विष्णुकान्त चौधरीले बताए । ‘यो अत्यधिक परिमाण हो, सम्भवत: आयातकर्ताले भन्सार शुल्क घटने प्रतीक्षा गरेका हुन सक्छन्,’ उनले भने, ‘भन्सार शुल्क वृद्धिपछि तेस्रो मुलुकबाट चिनीको आयातमा ब्रेक त पक्कै पनि लागेकै हो ।’ कोलकाता बन्दरगाहमा नेपाल आउने प्रतीक्षामा अझै पनि ठूलो परिमाणमा चिनी रहेको आफूले सुनेको तर त्यहाँ कति परिमाणमा छ भनी आफूले यकिनसाथ बताउन नसक्ने उनले बताए । सस्तो चिनी आयात भएपछि आमउपभोक्तालाई भने राहत भएको छ । हाल बजारमा प्रतिकिलो ६५ रुपैयाँमा चिनी उपलब्ध छ ।


 

 

सम्बन्धित शीर्षकहरु