जिउँदो शहिदको सन्तानलाई निःशुल्क शिक्षा

जनकपुरधाम । मधेश आन्दोलनमा सख्त घाइते भएका जनकपुर–१५ का सुनिल दासका सन्तानलाई एक नीजि विद्यालयले निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । मधेश आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर जनकपुर उपमहानगरपालिका वडा नं. १५ बस्ने दास घाइते भएका थिए । उनलाई पिठ््युभन्दा तल र खुट्टामा गरी तीनवटा गोली लागेको थियो । उपचारको क्रममा दुई वटा गोली निस्केपनि एउटा गोली अझै शरिरमै रहेको बताइएको छ । प्रदेश साँसद रामअशिष यादवको पहलमा जनकपुरस्थित एजुकेशन प्वाइन्टले उनको दुवै छोरालाई निःशुल्क पढाउने प्रतिबद्धता जनाएका छन् । विद्यालय सञ्चालक सुकेश्वर यादवले सुनिलको ५ वर्षिय छोरा सिद्धार्थ दास र ३ वर्षिय छोरा सुसार्थ दासलाई पोशाक, पुस्तक र स्टेशनरी समेत दिने घोषणा गरेका छन् ।साँसद यादवले मधेश आन्दोलन अधिकारको लागि भएको र सो आन्दोलनमा घाइतेप्रति राज्यले वेवास्ता गरेको भन्दै दुःखेसो पोख्दै विद्यालयले आन्दोलनमा घाइतेको सन्तानलाई कम्तिमा १० कक्षासम्म पढाउने प्रतिबद्धता जनाउनु आफैमा धन्यवादको पात्र रहेको बताएका छन् । शिक्षामाथि प्रकाश पार्दै प्रदेश साँसद यादवले सहयोगी हाथसबभन्दा ठूलो रहेछ । यसरी नै आन्दोलनमा शहादत दिएका र घाइते भएकाहरुको बालबालिकाहरुलाई शिक्षा निःशुल्क गरेमा आउने दिनमा उनीहरुमा उर्जा बढ्ने बताएका छन् ।भर्ना कार्यक्रममा सुरेश शर्मा, ताहिर हुसैन, विपिन सिंह, अमित साह लगायत दर्जनौं व्यक्तिले आफ्ना विचार राखेका छन् । त्यस्तै क्षेत्रीय स्तरीय छनौटका लागि राष्ट्रपति कराँते प्रतियोगितामा प्रथम भएका तीनवटा विद्यार्थीहरुलाई पनि सो विद्यालयले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा कक्षा १०मा अध्ययनरत कृष्ण कुमार साह, कक्षा ९ मा अध्ययनरत एश्मी साह र कक्षा १० मा अध्ययनरत शंकर साह रहेका छन । उनीहरुलाई फुलमाला र शिल्ड सहित प्रदेश साँसद रामअशिष यादव, विद्यालयका सञ्चालक सुकेश्वर यादव र अमित साह लगायतले सम्मान गरेका थिए ।

 

 

सम्बन्धित शीर्षकहरु