सिमरा गोल्डकपको उपाधी भिडन्त आज

फाल्गुन ५, २०७४ - बाराको सिमरामा जारी नवौँ संस्करणको सिमरा गोल्डकप फुटबलको उपाधीका लागि आज विभागीय त्रिभुवन आर्मी र रुस्लान थ्रीस्टार क्लवबीच प्रतिस्पर्धा हुँदैछ । सिमरास्थित स्थानीय रंगशालामा दिउँसो ३ बजे दुई टोली उपाधीका लागि भिड्नेछन् । सिमरा गोल्डकपको उपाधीका लागि दुई क्लवबीच हुन लागेको यो दोस्रो भिडन्त हो । २०७१ सालको उपाधी भिडन्तमा थ्रीस्टारलाई पछाउँदै आर्मीले उपाधि उचालेको थियो ।

यसै सिजन भएका २ भेट मध्ये एकमा आर्मी र अर्कोमा थ्रीस्टार विजयी भएका छन् । कप्तान विशाल श्रेष्ठ खुट्टा भाँच्चिएर उपचारमा रहेको तथा अजयी मार्टिन कारबाहीमा परेकाले थ्रीस्टार क्लब आर्मीविरुद्ध केही दबाबमा देखिएको छ । यद्यपी टोलीले आफ्नो क्षमता अनुसारको खेल प्रस्तुत गर्दै उपाधी उचाल्ने प्रशिक्षक मेघराज केसीले बताएका छन् ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले आफुहरुले गोल गर्ने मौकालाई पुर्णरुपमा सदुपयोग गर्दै उपाधी जित्ने दावी गरेका छन् । नव–जनजागृती युवा क्लबको आयोजनामा भएको प्रतियोगिता उपाधि विजेताले ५ लाख ५१ हजार तथा उपविजेता टोलीले २ लाख ५१ हजार रुपैयाँ हात पार्नेछ ।

 

 

सम्बन्धित शीर्षकहरु